नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई भिजिट भिसाको नाममा अवैध रूपमा पठाउन लागिएको शंकामा नेपाल फर्काइएको छ। नेपाली दूतावासको समन्वयमा ती महिलाहरूलाई स्थलमार्ग हुँदै गएराति सुनौली नाकाबाट रूपन्देही ल्याइएको हो। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ती महिलाहरूलाई हाल प्रशासनको जिम्मा लगाइएको छ र काठमाण्डौ ल्याउने प्रक्रिया सुरु गरिएको छ।
गृहमन्त्री रमेश लेखकले यस घटनालाई गम्भीर रूपमा लिँदै मानव बेचबिखनसम्बन्धी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयले मानव बेचबिखन अनुसन्धान ब्युरोलाई दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ। मन्त्री लेखकले वैदेशिक रोजगारीका नाममा भइरहेको अवैध गतिविधिमाथि गहिरो छानबिन गर्न पनि आग्रह गर्नुभएको छ।






