काठमाण्डौ – अन्तर्राष्ट्रिय भलिबल प्रतिस्पर्धा काभा च्याम्पियन लिगमा हेल्प नेपालले शानदार पुनः प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि बिहीबार भएको खेलमा हेल्प नेपालले श्रीलङ्काको पुलिस टोलीलाई ३–१ को सेटमा पराजित गर्यो।
पहिलो सेट २५–२० र दोस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपाली टोलीले खेलमा बलियो पकड़ बनायो। तेस्रो सेट २०–२५ ले गुमाएको भए पनि चौथो सेटमा २५–२१ को जित निकाल्दै टोलीले निर्णायक जित हात पार्यो।
यसअघि लिग चरणको अन्तिम खेलमा पनि श्रीलङ्काली टोलीलाई ३–० को सिधा सेटमा हराएको हेल्प नेपालले, कीर्गिस्तानको बिश्केकसँग समान ११ अंक भए तापनि सेट अन्तरका कारण फाइनल प्रवेश गर्न सकेन। तर, तेस्रो स्थानको जितसँगै टोलीले प्रतियोगितामा गर्विलो उपस्थिति जनाउन सफल भयो।






