देशका विभिन्न भूभागमा जारी मुसलधारे वर्षाले बाढी, डुबान र पहिरोको सम्भावना बढाएको छ। मौसम विभागका अनुसार पूर्वी पहाडी क्षेत्रदेखि लुम्बिनी प्रदेशसम्मको भूभागमा लगातार वर्षा भइरहेका कारण नदी र खोलाहरूको बहाव तीव्र भएको छ। सुनसरीको सार्दु खोलामा जलसतहले खतरा तह पार गरिसकेको छ भने इलाम, पर्वत र कास्कीका केही स्थानहरूमा पानीले सतर्कता तह नाघिसकेको छ।

विशेषगरी चन्द्रगढी, माईखोला, कन्काई, मोदी र मेची खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाडी क्षेत्रहरू ओखलढुङ्गा, खोटाङ, धनकुटा लगायतका जिल्लामा स–साना खोलाहरूमा आकस्मिक बहाव र पहिरोको खतरा बढेको छ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपाल र लुम्बिनी क्षेत्रमा र भोलि पश्चिमी नेपालमा भारी वर्षा हुने प्रबल सम्भावना छ। विशेषगरी नदी किनार, होचा भूभाग र पहाडी क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन तथा आवश्यक नपरी पृथ्वी, बीपी, र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न सुझाव दिइएको छ।

मधेश प्रदेशमा भने उल्लेखनीय वर्षाको सम्भावना नरहेको जनाइएको छ। मौसम भोलि रातदेखि क्रमशः सुधार हुने पूर्वानुमान छ।