काठमाण्डौ – आज सनातन धर्मावलम्बीहरूले विशेष श्रद्धाका साथ हरिशयनी एकादशी मनाइरहेका छन्। असार शुक्ल एकादशीका दिनबाट सुरु हुने चतुर्मासको अवसरमा घरघरमा राखिएको तुलसीको बिरुवा आज औपचारिक रूपमा तुलसीको मोठमा सारिँदैछ। यससँगै चार महिनासम्म चल्ने विष्णु पूजा र तुलसी आराधना पनि प्रारम्भ भएको छ।

वैदिक मान्यताअनुसार भगवान् विष्णु आजदेखि क्षीरसागरमा शयन गर्न जानुहुन्छ, जसका कारण आजको दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ। यस दिनदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ, जहाँ तुलसीलाई विष्णुको प्रतीक मानी विशेष पूजा गरिन्छ।

धार्मिक मान्यतासँगै वैज्ञानिक पक्षले पनि तुलसीलाई औषधीय गुणले भरिएको बिरुवा मानेको छ। तुलसी भएका स्थानमा वातावरण स्वच्छ रहन्छ र संक्रमण फैलाउने कीटाणुहरू नष्ट हुने विश्वास गरिन्छ।

काठमाडौंको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। व्रत गर्नेहरूले आज चामलजन्य परिकार नखाई फलाहार, रोटी वा ढिँडो खाएर धार्मिक विधि अनुसार उपवास बस्ने चलन छ।

कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन, विधिपूर्वक चार महिना पूजा गरिएको तुलसीको ‘दामोदर’सँग विवाह गरिने वैदिक परम्परा अझै जीवित छ।