सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी महिला एशियन कपको सपना नेपाली टोलीको लागि तास्केन्तमै टुंगिएको छ। निर्णायक खेलमा उज्वेकिस्तानसँग रोमाञ्चक खेल खेल्दै पनि नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो।
निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएको थियो। नेपालको लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गर्दै टोलीलाई जित नजिक पुर्याइन्। तर, उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले एक–एक गोल गर्दै खेल बराबरीमा ल्याए।
खेल पेनाल्टीमा गएपछि नेपाल चुक्यो। चार पेनाल्टीमध्ये दुई गोल गर्न सफल नेपाली टोली उज्वेकिस्तानको उत्कृष्ट संयोजनसँग पछि पर्यो। यस जितसँगै उज्वेक टोली २२ वर्षपछि एएफसी महिला एशियन कपमा पुनः प्रवेश गर्न सफल भएको छ।






