काठमाण्डौ – तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत काठमाण्डौले दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। राजावादी आन्दोलनका क्रममा भएको उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। थुनामा पठाइएका व्यक्तिहरूमा तारा राजावादी भनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङसमेत छन्। न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट दिइएको आदेशअनुसार बाँकी ३२ जनालाई धरौटीमा रिहा गर्न भनिएको छ।