अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (ICE) द्वारा गरिएको अपरेशनले ११८ जना अवैध आप्रवासीलाई नियन्त्रणमा लिँदा, त्यसपछि देखिएको जनआक्रोशले सहरको शान्ति नै डगमगाएको छ। प्रदर्शनकारीहरूले संघीय भवनलाई घेरेर विरोध जनाउँदै ICE अधिकारीहरूलाई प्रत्यक्ष निशानामा राखेका छन्।

यो घटना केवल गिरफ्तारीमा सीमित रहेन — गृह सुरक्षा विभागका अनुसार डेमोक्र्याट नेताहरूका चर्का अभिव्यक्तिले आगोमा घ्यू थपेको हो। हकीम जेफ्रीज, करेन बास, टिम वाल्ज र मिशेल वूजस्ता नेताहरूको कथित उत्तेजक टिप्पणीपछि विरोध प्रदर्शन हिंसात्मक मोडमा पुगेको विभागको आरोप छ।

ICE को दाबी अनुसार, पक्राउ परेकामध्ये केही आपराधिक गिरोह, लागूपदार्थ तस्करी, मानव बेचबिखन र घरेलु हिंसासँग समेत जोडिएका छन्। यसैबीच, गृह सुरक्षा विभागले नेताहरूलाई संयमित भाष्य दिन आग्रह गर्दै सामाजिक शान्तिका लागि सबैपक्षको जिम्मेवारीको खाँचो औंल्याएको छ।