इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक यात्रामा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्समाथि प्रभावशाली जित निकालेको छ भने राजस्थान रोयल्स अन्तिम बलसम्म पुगेको संघर्षमा कोलकातासँग एक रनले पराजित भएको छ।

हिजोको दोस्रो खेलमा पन्जाबले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय ३६ रनको विशाल योगफल खडा गर्‍यो। ओपनर प्राभसिम्रन सिंहले ९१ रनको उत्कृष्ट इनिङ्स खेले भने श्रेयस अय्यरले ४५ रन बनाए। बलिङतर्फ लखनउका आकाश सिंह र दिगभेष राथीले दुई-दुई विकेट लिए।

लक्ष्य पछ्याउन उत्रिएको लखनउ सुपर जायन्ट्स २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रनमा समेटियो। आयुष बडोनीले सर्वाधिक ७४ रन बनाउँदै लडाइँलाई रोचक बनाए पनि जितसम्म पुर्‍याउन सकेनन्। अब्दुल सामदले पनि ४५ रन बनाए। पन्जाबका लागि अर्षदीप सिंहले ३ विकेट लिए।

यो जितसँगै पन्जाबले सातौं जित हासिल गर्दै १५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ, जबकि लखनउ १० अङ्कमा सीमित रहँदै सातौं स्थानमा छ।

यसअघि भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित निकाल्दै राजस्थान रोयल्सलाई एक रनले हरायो। टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। आन्द्रे रसेलले ५७ रन बनाउँदा अङ्क्रिश रघुवंशीले ४४ रनको योगदान दिए।

२०७ रनको लक्ष्य पछ्याउँदै राजस्थानले पनि कडा प्रयास गर्‍यो। कप्तान रियान परागले ९५ रनको जुझारु पारी खेले भने यशस्वी जयसवालले ३४ रन बनाए। तर अन्तिम ओभरमा आवश्यक रन पूरा गर्न नसक्दा टोली ८ विकेटको क्षतिमा २०५ रनमै रोकियो। कोलकाताका मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए।

कोलकाताले ११ अङ्कसहित छैटौं स्थानमा उक्लिएको छ भने राजस्थान ६ अङ्कमा सीमित रहँदै आठौं स्थानमा छ।

आईपीएलको आजको खेलमा सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स आमने-सामने हुनेछन्।