काठमाडौँ – आईपीएल २०२५ मा चेन्नई सुपर किङ्ग्सको अभियान झनै धराशायी हुँदै गएको छ। गएराति सनराइजर्स हैदराबादसँग ५ विकेटले पराजित भएपछि चेन्नईको प्लेअफ यात्रामा पूर्णविराम लागेको छ। हैदराबादले १५५ रनको लक्ष्य १८.४ ओभरमै भेट्टाउँदै चेन्नईलाई सातौं हार चखायो।
हैदराबादका इशान किसनले आक्रामक ४४ रन बनाएर जितको आधार तयार गरे। चेन्नईका लागि नुर अहमदले दुई विकेट लिए भने खलिल अहमत, अन्सुल कम बोज र रविन्द्र जडेजाले समान एक-एक विकेट झारे।
पहिले ब्याटिङ गर्दै चेन्नईले १९.५ ओभरमा १५४ रनमा समेटियो। डिवाल्ड ब्रेभिसले ४२ रन बनाए पनि टोली ठूलो स्कोर बनाउन सकेन। हैदराबादका हर्षल पटेलले घातक बलिङ गर्दै चार विकेट लिए भने प्याट कमिन्स र जयदेव उनादकटले दुई-दुई विकेट हात पारे।
नौ खेलपछि चेन्नईको नाममा मात्र चार अंक छ र टोली तालिकाको पुछारमा पुगेको छ। कप्तान महेन्द्र सिंह धोनीको टिमको प्लेअफ सम्भावना औपचारिक रूपमा समाप्त भइसकेको छ।
यसैबीच, आजको खेलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्ग्सबीच भिडन्त हुँदैछ। इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे शुरू हुनेछ। पञ्जाब १० अंकसहित पाँचौं र कोलकाता ६ अंकसहित सातौं स्थानमा छन्।






