‘मेरो बच्चा जतिबेला पनि मोबाइलमै झुण्डिरहन्छ ।’धेरै अभिभावकले यस्तो गुनासो गरिरहेका हुन्छन् । बच्चाहरू मोबाइल फोनमा यति व्यस्त हुन्छन् कि उनीहरु समयमा खान र खेल्न समेत बिर्सिन्छन् ।
बालबच्चालाई ठूलालाई भन्दा बढी मोबाइलको फिचर थाहा हुने अवस्था आइसक्यो । फोनमा युट्युब र गेम कहाँ छन्, कसरी प्रयोग गर्ने, यी सबै उनीहरुले छिनभरमै सिकाउन सक्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी लगभग हरेक बालबालिकामा देखिन्छ ।
एकल परिवारमा आमाबाबु दुवै काममा व्यस्त हुने भएकाले बच्चालाई पर्याप्त समय दिन भ्याइरहेका हुँदैनन् । त्यसैले बच्चालाई भुलाउन उनीहरुको हातमा मोबाइल थमाइदिन्छन् । यसले उनीहरुलाई मोबाइलको लत बसाइदिन्छ । जसबाट छुटाउन निकै सकस पर्छ ।
१. अभिभावकले समय नदिनु
बालबच्चालाई मोबाइल वा टीभीको लत बस्नुमा अभिभावक नै जिम्मेवार हुन्छन् । आफ्ना आमाबुबालाई फोनमा व्यस्त भएको देख्दा उनीहरुले पनि त्यही सिक्ने हुन् । आमाबुबाले समय नदिंदा उनीहरुले विकल्प खोज्छन् र त्यसको पहिलो प्राथमिकतामा मोबाइल पर्छ । समय बिताउन मोबाइल चलाउँदा चलाउँदै उनीहरुको लत यसैमा बस्छ ।
२. चकचक नगरोस् भनेर मोबाइल दिनु
अभिभावक दिनभरको कामबाट थकित भएर घर फर्किएको बेला बच्चा शान्त रहोस् भन्ने चाहन्छन् । तर बच्चाहरु ऊर्जावान् हुने भएकाले उनीहरु खेल्न, उफ्रिन चाहन्छन् । उनीहरुलाई शान्त बनाउन अभिभावकले मोबाइल हातमा थमाइदिन्छन्,
३. खेल्ने साधनको रुपमा मोबाइल दिनु
अहिले सहरी क्षेत्रमा बच्चाका लागि खेल्ने ठाउँ पर्याप्त छैन । बाहिर रेस्टुरेन्टतिर खाना खान जाँदा पनि ती बालबालिकामैत्री छैनन् । त्यहाँ उनीहरु उफ्रिन, दौडिन चाहन्छन् । तर ठाउँ नहुँदा अभिभावकले मोबाइल नै थमाइदिन्छन् ।अहिले बालबालिकालाई खेल्नको लागि पर्याप्त खेल मैदान छैनन् । बच्चाका साथीभाइ पनि खासै हुँदैनन् । बाहिर खेल्न पठाउँदा बच्चा फोहोरी हुन्छन् भन्ने पनि लाग्छ अभिभावकलाई । त्यसैले बच्चा बाहिर खेल्न नजाऊन् भनेर वा खेल्ने मैदानको अभावले बच्चालाई खेलौनाको रुपमा मोबाइल दिइन्छ ।
४. खाना खुवाउने बेलामा मोबाइल दिनु
अहिले बालबालिकालाई खाना खुवाउनै गाह्रो छ । यो नखाने, त्यो नखाने भनेर झगडा गर्छन् । बच्चालाई खाना खुवाउन अन्य उपाय अपनाउन अभिभावक अल्छी मान्छन् । पहिले कथा सुनाएर सँगसँगै दौडिएर बच्चालाई खाना खुवाइन्थ्यो । अहिले बच्चाले खान मानेन भने मोबाइल दिएर त्यसमा ध्यान केन्द्रित गरेर खुवाउने प्रवृत्ति बढेको छ ।
५. प्रलोभन देखाएर मोबाइल दिनु
‘होमवर्क गर अनि मोबाइल दिन्छु, यो काम गर अनि मोबाइल दिन्छु ।’ अभिभावकले विभिन्न प्रलोभन देखाएर पनि बच्चालाई मोबाइल दिन्छन् । तर यस्ता बच्चा पछि जिद्दी बन्छन् अनि बाध्यतामा उनीहरुको हरेक कुरा मान्नुपर्छ ।बच्चालाई प्रलोभन देखाएर मोबाइल दिंदा उनीहरु त्यसको लतमा पर्छन्






