सरकारले इजाजतप्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हतियारहरू इजाजत बाहकले घरबाहिर लैजान नपाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

‘प्रचलित कानुनबमोजिम इजाजतपत्र प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।

त्यस्तै यात्रा इजाजत प्राप्त गरेका हातहतियारहरू पनि तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले दुर्गा प्रसाईंलाई इजाजत दिएको हतियारबारे छानबिन गरी गत वैशाख १७ गते प्रतिवेदन बुझाएको थियो।

सहसचिव राजेन्द्रदेव पाण्‍डेको संयोजकत्वमा बनेको समितिले दुर्गा प्रसाईंको हतियार देशभर लैजान नमिल्ने बताएको थियो। उक्त समितिले हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्न सुझाव दिएको थियो।

व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस प्रतिवेदनमा छ।