नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको भएपनि बजेटले बढाएको भन्सार समायोजन हुँदा नेपाली बजारमा सुनको मूल्य बढेको छ।

बजेटले सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ। यससँगै तोलामा पाँच हजार रूपैयाँले सुनको भन्सार दर बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १९ सय  रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।