कानुन,  न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताए। उनले एक हप्ताभित्र पारित गर्नेगरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिए।

चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उनको भनाइ छ।

उनले भने, ‘मैले यसभन्दा अगाडिको बैठकमा पनि माननीयज्यूहरुलाई आग्रह गरेको थिएँ, संसदको यो हिउँदे अधिवेशनको धेरै समयावधि सायद छैन। यसबिचमा हामीले कम्तीमा पनि यो केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याएर ऐनको रुपमा अगाडी बढाउनको निम्ति सक्यौँ भने राम्रो उपलब्धि हुनसक्छ भन्ने लागेको छ। आउने एक हप्ताभित्र यसलाई टुंगोमा पुर्‍याउनु पर्नेछ।’

उनले छलफलका क्रममा सांसदहरुले राखेको सुझावहरुको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए । विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडी बढ्ने उनले जानकारी दिए ।