लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक डाकिएको छ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो।
सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभाको अंकगणितले उनले विश्वासको मत पाउने सम्भावना न्यून देखाउँछ। तर साना दलहरूसँगको छलफल जारी रहेको केही सकारात्मक बनेको तर त्यति ढुक्क हुन सक्ने अवस्था नरहेको कांग्रेसका एक सांसदले बताए।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री इन्द्रजित थारुले मुख्यमन्त्री चौधरीले दलहरूलाई प्रभावमा पार्न खोजेपनि त्यो सम्भावना नरहेको बताए।
‘जति प्रयास गरेपनि गठबन्धनका साथीहरु हाम्रो पक्षमा एक भएर उभिनुहुनेमा विश्वस्त छु।
गठबन्धनको शीर्ष नेताहरूबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने समझदारी बनिसकेको छ। त्यसअनुसार माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्न तयार भएर बसेका छन्।
कांग्रेससँगको गठबन्धन पनि टुटेपछि अब समीकरण फेरिएको हो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन्।
उनले आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबीसमेत गरेका छन्। उनले सत्ता गठबन्धनका ४७ सांसद रहेको र नागरिक उन्मुक्तिसँग पनि छलफल चलिरहेको बताए।
‘मेरो पक्षमा सत्ता साझेदार दलहरु एक ढिक्का छन् अब कसैले त्यो तोड्न सक्ने अवस्था छैन,’ महराले भने, ‘त्यसका साथै अन्य दलहरुलाई पनि मनाउने प्रयास जारी छ।’






