प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् ।
माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
तल्लो तहका सरकारलाई बलियो बनाउन साना आयोजनामा केन्द्रले बजेट राख्दैन । आगामी आर्थिक वर्षदेखि यो लागू हुन्छ ।’
नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिइसकेको छु ।’
माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले चालेका कदमबाट जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि बताए ।
उनले आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष प्याकेज तयार गर्न आफूले निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।






