बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने तयारी गरेका छन्।

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएसँगै बागमती प्रदेशमा २३ फागुनमा काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो। सरकारलाई दिएको समर्थन फिर्ता भएसँगै संवैधानिक व्‍यवस्थाअनुसार ३० दिनभित्र मुख्‍यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

बागमती प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच बिहीबार पाँचबुँदे सहमतिसमेत भएको छ। वर्तमान प्रदेशसभामा बाँकी पूरै कार्यकालका लागि सहकार्य गरी सत्ता गठबन्धन गर्ने उल्लेख छ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छन्। एमाले, माओवादी र एकीकृत समाजवादी र हानेपाका कुल सांसद ५७ छन्।