प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन्।
उनले महिलाहरु आर्थिक हिसावले सशक्त नभई साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गरे। उनले आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताए।
उनले महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताए। प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताए।
उनले महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिबद्धता व्यक्त गरे।
आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन पनि सक्दैन। आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो। यही वास्तविकतालाई आत्मसाथ गरेर महिला उद्यमी महासंघले महिलालाई उद्यममार्पmत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ। सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुशी र गर्वको कुरा पनि हो। महासंघको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ। आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन।
प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गरे।






