प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। दुई शीर्ष नेताहरूबीच बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

दुई नेताबीच एक घण्टा छलफल भएको थियो। त्यसको ४८ घण्टा नबित्दै देउवा र प्रचण्डबीच फेरि आज बिहान भेटवार्ता भएको हो।

आसन्न उपनिर्वाचमा साझा उम्मेदवारका सन्दर्भमा सत्तारुढ दलहरू एक मत हुन नसकेको बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यद्यपि  प्रधानमन्त्रीको सचिवालय भने संसदमा विचाराधिन विधेयक र  संसदको अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताउँछ।

भेटमा संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेको भन्दै सो सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरी संसदमा अवरोध गर्दै आएको छ।

यस्तै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन अवस्थामा छ।

गत फागुन २१ मा कांग्रेससँग सहकार्य तोडेर एमालसँग गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई धोका दिएको कांग्रेसको आरोप छ।