नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यही साता प्रदेशहरूमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन्।

सत्तामा रहेका दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो।

‘केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया सुरू हुन्छ,’ उनले भने, ‘सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकताबद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको छ।’

महासचिव पोखरेलले एमाले समाजवादी मोर्चामा नजाने पनि बताए। उनले एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभई राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए।

एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्‍याउने गरी नै भएको उनले बताए। एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको उनको दाबी थियो।