निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।

आइतबार आयोग प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उपनिर्वाचन अघि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि अध्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन्।

२०८१ वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि आयोगले चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको हो। आगामी वैशाख १४ गते १८ वर्ष पुग्नेले पनि उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्।

निर्वाचनको घोषणा भएसँगै आयोगले देशभरकै मतदाता नामावली अध्यावधिक गरी अन्‍तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट संकलन भएका मतदाता नामावलीको अध्यावधिक तथा दाबी विरोधको प्रक्रिया अघि बढाएको हो।

आयोगले फागुन १३ गतेसम्म संकलन भएका विवरणहरूको अद्यावधिक गर्न लागेको हो।

मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गते देखि २०८० चैत्र ५ गते सम्म सञ्चालन हुनेछ।

यसका लागि फागुन २८ गते आयोगको बेवसाइट (www.election.gov.np) मा मतदाता नामावली प्रकाशन गरिन्छ।

उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि applyvr.election.gov.np मा गई अनलाइनमार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

चैत २२ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी थालेको हो। यस कार्यक्रमको प्रभावकारिताका लागि आयोगले गृह मन्त्रालयमार्फत् सबै प्रमुख जिल्ला अधिकारीहरूलाई प्रमुख नाम दर्ता अधिकारीसँगको समन्वयमा जिल्ला राजनीतिक दलहरूसँग बैठक राखेर कार्यक्रम सम्बन्धी सूचना सम्प्रेषणको व्यवस्‍था मिलाउन पनि निर्देशन दिएको छ।