अमेरिकी राज्य विभागले नेपालसहित ५० देशका नागरिकका लागि भिसा बन्ड कार्यक्रम स्थायी गरेको छ। यो नियम सोमबारदेखि लागू भएको हो।
यसअघि सन् २०२५ अगस्ट २० देखि चलाइएको १२ महिने पाइलट कार्यक्रमलाई स्थायी बनाइएको हो। अस्थायी बी–१/बी–२ (व्यापार तथा पर्यटन) भिसा माग्ने केही आवेदकले १०,०००, १५,००० वा २०,००० अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।
कन्सुलर अधिकारीहरू सामान्यतया १५,००० डलर माग्ने अपेक्षा गरिएको छ भने व्यक्तिगत अवस्थाअनुसार रकम घटाउन वा बढाउन सक्छन्। धरौटी रकम भिसाधारकले तोकिएको समयभित्र अमेरिका छाडेपछि फिर्ता हुनेछ।
नेपालले यो नीति पुनरावलोकन गर्न अमेरिका समक्ष बारम्बार आग्रह गर्दै आएको छ। अमेरिकी अधिकारीहरूले भिसा ओभरस्टे, कागजात जालसाजी र अध्यागमन नियम उल्लङ्घनका कारण नेपाललाई सूचीमा राखिएको बताएका छन्।
आवेदकहरूलाई कन्सुलर अधिकारीको निर्देशनबिना तेस्रो पक्षको वेबसाइटमार्फत भुक्तानी नगर्न आग्रह गरिएको छ।






