स्याङ्जा जिल्ला सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा औपचारिक रूपमा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। बिहीबार साँझ ५ बजेदेखि सेनाले कारागारको सुरक्षा व्यवस्थापनको पूर्ण जिम्मेवारी सम्हालेको हो।

सिंह शार्दूल गुल्म, आँधिखोला ब्यारेकबाट २५ जनाको टोली कारागारमा खटाइएको छ। यसअघि नेपाल प्रहरीको संयुक्त टोलीले त्यहाँ सुरक्षा प्रदान गर्दै आएको थियो।

सिंह शार्दूल गुल्म, आँधिखोलाका उप-कमाण्डर कल्याण थापाका अनुसार, सेनाको टोलीले अब कारागारको जिम्मेवारी सम्हालेको छ र सम्बन्धित निकायसँग समन्वय गरी सरकारको निर्देशन कार्यान्वयन गरिरहेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अति संवेदनशील मानिएका कारागार तथा अन्य संरचनाहरूमा सेना खटाउने नीति रहेको छ र स्याङ्जामा यो कदम सोही नीति अनुरूप हो।

सेनाको प्रत्यक्ष संलग्नतासँगै कारागारको सुरक्षा व्यवस्था थप सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ।