भदौ २६, २०८२ | काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन शाहले देशमा स्थायित्व र परिवर्तनका लागि संसद् विघटन तथा अन्तरिम सरकार गठन अपरिहार्य भएको उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा समर्थन जनाएका छन्।
जेनजी नामक आन्दोलनकारी समूहले कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि अगाडि सार्दै प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव राखेको थियो। बालेनले यस प्रस्तावप्रति समर्थन जनाउँदै भनेका छन्, “अन्तरिम सरकारको नेतृत्व अब यस्तो व्यक्तिको हातमा हुनुपर्छ, जसले न्यायको अनुभव बोकेको होस्।”
गएराति सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले संसद् तत्काल विघटन गर्न र नयाँ शासकीय संरचनाको बाटो खोल्न आह्वान गरेका छन्। उनका अनुसार, जेनजीहरूले ल्याएको आन्दोलन ऐतिहासिक भएकाले त्यसलाई दिगो बनाउने उपाय अन्तरिम सरकारमार्फत अघि बढाउनु जरूरी छ।






