भदौ २६, २०८२ | काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू व्यवस्थालाई क्रमशः खुकुलो पार्दै लैजाने तयारी सुरक्षासंस्थाले सार्वजनिक गरेको छ। सुरक्षाको समग्र अवस्थाको मूल्यांकन गर्दै नेपाली सेनाले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आज बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लागू हुने जनाएको छ। त्यसपछि साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
नागरिकहरूलाई बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि हिँडडुल गर्न अनुमति दिइएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, र अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधनलाई भने सधैंझैं छुट दिइने सेनाले स्पष्ट पारेको छ।
यस अवधिमा इन्धन, खाद्यान्न, औषधि, पानी, दूध तथा तरकारी ढुवानी गर्ने सवारीहरू चल्न सक्ने छन् भने सरकारी कार्यालय, बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरू परिचयपत्र देखाएर कार्यालयसम्म जान पाउनेछन्।
उडान यात्रुहरूलाई पनि टिकट देखाई विमानस्थल आवतजावतको अनुमति दिइनेछ। उपत्यकाबाहिर भने स्थानीय सुरक्षा समितिको सिफारिस र निर्णयअनुसार व्यवस्था लागू गरिने जानकारी सेनाले दिएको छ। सेनाले नागरिकलाई आवश्यक परेमा नजिकैका सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न अपिलसमेत गरेको छ।






