हालैको जेन–जी आन्दोलनमा भएको हिंसात्मक घटनापछि शिक्षण संस्थाहरू शोकमा डुबेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाको ज्यान गएपछि शिक्षण क्षेत्रले आन्तरिक रूपमा दुःख प्रकट गर्दै भदौ २४ र २५ गते (आज र भोलि) देशभरका अधिकांश निजी विद्यालय तथा विश्वविद्यालयहरू बन्द गर्ने निर्णय गरेका हुन्।

नेपाल मन्टेश्वरी एशोसियसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनका प्रतिनिधिहरूले संयुक्त विज्ञप्तिमार्फत दुई दिन पठनपाठन स्थगित गर्ने जानकारी दिएका छन्। काठमाडौँ र ललितपुरसहितका विभिन्न जिल्लाका स्थानीय तहले समेत शिक्षण संस्था बन्दको निर्णयमा समर्थन जनाएका छन्।

यसबीच त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले पनि निर्धारित परीक्षा सार्ने निर्णय गरेका छन्। त्रिविको चार वर्षे स्नातक तहको भदौ २४, २५ र २६ गतेका परीक्षा अब असोज २, ४ र ५ मा सर्नेछ। काठमाडौँ विश्वविद्यालयले पनि आज पठनपाठन नहुने जानकारी दिएको छ।