पश्चिम तराईका थारू समुदायले आज उल्लासका साथ आफ्नो मौलिक तथा सांस्कृतिक पर्व अटवारी मनाइरहेका छन्। यस पर्वले पारिवारिक सम्बन्ध, विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउने विश्वास राखिन्छ।
यो पर्वको मुख्य आकर्षण विशेष परिकारहरूको तयारी र पूजामा केन्द्रित हुन्छ। शुक्रबार राति “दर” खाएर, शनिबार व्रत बसेर बेलुका रोटी पकाइ देवतालाई चढाइन्छ। आइतबार बिहान मात्र भात र तरकारी पकाएर पूजापछि ग्रहण गर्ने परम्परा छ।
दाङको घोराही उपमहानगर–१७ की थारू अगुवा सरस्वती चौधरीका अनुसार, अटवारीमा बनाइने रोटी, दही, फलफूल लगायतका परिकारहरू अग्निदेवलाई अर्पण गरिन्छ, अनि दिदीबहिनीका लागि छुट्याइएका परिकार अग्रासनका रूपमा पठाइन्छ। जब कोसेली दिदीबहिनीका घरमा पुर्याइन्छ, त्यतिबेला अटवारी सम्पन्न भएको मानिन्छ।
थारू संस्कृति अध्येता अशोक चौधरीका अनुसार, सूर्यलाई उज्यालो र सकारात्मकताको प्रतीकका रूपमा मान्दै अटवारी पर्वमा पूजा गरिन्छ। साथै, पौराणिक मान्यताअनुसार भीमको पूजा गर्ने चलन पनि रहिआएको छ।
यस पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायको ठूलो सहभागिता रहेका छ वटा जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ। सार्वजनिक बिदा पाउने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी रहेका छन्।






