युक्रेनमाथि रुसले हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ, जसमा १२ जना नागरिकको ज्यान गएको छ। शनिबार रातिदेखि सुरु भएको मिसाइल र ड्रोन आक्रमणमा रूसले करिब ४०० वटा प्रक्षेप्य हतियार प्रयोग गरेको बीबीसीले जनाएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि प्रतिक्रिया दिँदै अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय समुदायले मौन समर्थन जस्तै व्यवहार गर्दा राष्ट्रपति पुटिनलाई आक्रमणका लागि हौसला मिलेको आरोप लगाउनुभएको छ। उहाँले रुसमाथि ठोस दबाब नदिइएसम्म यस्तो विनाश जारी रहने चेतावनी दिनुभयो।

यता युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले रातभर चलेको आक्रमणले युक्रेनलाई पूर्णरूपमा ध्वस्त पार्ने उद्देश्य स्पष्ट भएको बताउँदै रुसमाथि थप कडा कदम चाल्न आह्वान गर्नुभएको छ।

यसबीच पछिल्ला तीन दिनमा दुवै देशले एकअर्काका करिब ३०० सैनिकहरू स्वदेश फर्काएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार रुसी नियन्त्रणबाट फर्काइएका धेरै सैनिकहरूलाई यातना दिइएको र खाना नदिइएको विवरणहरू पनि सार्वजनिक भएका छन्।