काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै पूँजी बजारमैत्री धारणा स्पष्ट पारेको छ। समीक्षाअनुसार ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा लगाइएको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा ल्याइएको छ। यसअघि ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशतमै झारिएको थियो।
२०७८ सालमा राष्ट्र बैंकले यस्तो कर्जामा जोखिम भार १५० प्रतिशत पुर्याएको थियो, जुन अब पुनरावलोकन गर्दै घटाइएको हो। यस कदमले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह क्षमता बढाउने र पूँजी बजारमा लगानी प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले समीक्षा प्रतिवेदनमा मुद्रास्फीति नियन्त्रण, रेमिट्यान्स वृद्धिको सकारात्मक संकेत देखिएको जनाउँदै, निजी क्षेत्रको कर्जा प्रवाह, सरकारी पूँजी खर्च र औद्योगिक उत्पादन स्थायित्वमा अझै सुधार आवश्यक रहेको उल्लेख गरेको छ।
यस्तै, ब्याजदरमा देखिएको कमीतर्फ संकेत गर्दै राष्ट्र बैंकले आर्थिक गतिविधिमा क्रमशः सुधार हुँदै गएको र यसले बैंकहरूको निष्क्रिय कर्जा व्यवस्थापनमा पनि सहजता ल्याउने अनुमान गरेको छ। मूल्यवृद्धि लक्ष्यभन्दा तल रहेकाले आन्तरिक माग सन्तुलन गर्न सके मात्रै दीगो आर्थिक वृद्धि सम्भव हुने समीक्षा निष्कर्षमा उल्लेख छ।






