काठमाडौँ – टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। थाइल्यान्डमा सम्पन्न एशिया छनोटमा ऐतिहासिक प्रदर्शन गर्दै शीर्ष दुईमा स्थान बनाएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले स्वागत गरे।

चोटका कारण टोलीबाहिर रहेकी सीता राना मगर र पूर्व राष्ट्रिय खेलाडी करुणा भण्डारीले समेत विमानस्थलमा पुगेर टोलीको सफलता सँगै खुशी साटे।

नेपालले सुपर थ्री चरणमा यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो। कप्तान इन्दु बर्माका अनुसार यो सफलता १८ वर्षको संघर्ष र हालैको आलोचनाको जवाफ हो।

थ्री समूहबाट सुपर थ्री चरणमा प्रवेश गरेका नेपाल, थाइल्यान्ड र यूएईमध्ये शीर्ष दुईले ग्लोबल चरणमा स्थान बनाउने प्रावधानअनुसार नेपाल र आयोजक थाइल्यान्ड अघि बढेका हुन्। यद्यपि उपाधि भिडन्तमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।

अब नेपाली टोलीले सन् २०२६ को जुनमा इङ्गल्याण्डमा हुने विश्वकप प्रवेशका लागि १० राष्ट्र सहभागी ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ, जहाँ दुई समूहमा बाँडिएका टोलीमध्ये शीर्ष दुई–दुई राष्ट्र विश्वकपमा छनोट हुनेछन्।