काठमाडौँ – कर्णाली प्रदेश बाहेक देशका अधिकांश भूभागमा सोमबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ।

दिउँसोको समयमा विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा जारी रहने सम्भावना रहेको छ।

महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा वर्षाको असर पर्न सक्ने भएकाले सतर्क रहन र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन नागरिकलाई आग्रह गरेको छ। हालको मौसमी अवस्थालाई मध्यनजर गर्दै महाशाखाले आगामी तीन दिनसम्म वर्षा जारी रहने प्रक्षेपण गरेको छ।