काठमाडौँ – नक्सालस्थित नेपाल बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लिजमा अनियमितता भएको आरोपमा १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको छ।
पूर्वअध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ लगायत बाल सङ्गठनका पूर्वपदाधिकारीहरूमाथि सरकारी सम्पत्ति दुरुपयोग गरी निजी पक्षलाई आर्थिक फाइदा पुर्याएको अभियोग छ।
यस मुद्दामा व्यापारी, विद्यालय सञ्चालक र अन्य व्यक्तिहरू समेत संलग्न देखिएको छ। सरकारी पक्षले ६० करोड ३९ लाख रुपैयाँ बराबरको क्षतिपूर्तिसहित कारबाही माग गर्दै मुद्दा अघि बढाएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले अनुसन्धान सकेर माघ महिनामा फाइल पेश गरे पनि शुरुमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचाल्ने सुझाव दिएको थियो। तर महान्यायाधिवक्ताको कार्यालयको अन्तिम निर्णयपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।
सरकारबाट बालबालिकाको हितमा सञ्चालन गर्न दिइएको १०२ रोपनीमध्ये २९ रोपनी जग्गा प्रतिस्पर्धाविना निजी विद्यालयलाई भाडामा दिइएको र यस क्रममा कानूनी प्रक्रिया नअपनाइएको आरोप लगाइएको छ।






