काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाउँदै उपभोक्तालाई केही राहत दिएको छ।

निगमको सञ्चालक समितिको हालै सम्पन्न बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो, जसअनुसार नयाँ दर गएरातिदेखि लागू गरिएको छ।

नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा ४ रुपैयाँले मूल्य घटाइएको छ। त्यस्तै, एलपी ग्यास प्रति सिलिण्डर १५ रुपैयाँ घटेको भए पनि खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

क्षेत्रगत वर्गीकरणअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५५, दोस्रोमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ रहेको छ। डिजेल/मट्टीतेल पनि क्रमशः १४२, १४४ र १४५ रुपैयाँ कायम गरिएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य १२१ रुपैयाँ प्रति लिटर निर्धारण गरिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा; सुर्खेत र दाङलाई दोस्रोमा; र काठमाडौँ, पोखरा तथा दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ।