आइपिएल क्रिकेटमा सोमबार राति राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै एक नयाँ इतिहास रच्यो। मात्र १४ वर्षका युवा खेलाडी वैभव सूर्यवंशीले अविश्वसनीय शतकसहित टोलीलाई सहज जित दिलाए।
गुजरातले दिएको २१० रनको विशाल लक्ष्य राजस्थानले १५.५ ओभरमै दुई विकेट गुमाएर भेट्टायो। युवा ओपनर वैभवले ३८ बलमा १०१ रन बनाए, जसमा उनले ३५ बलमै शतक पूरा गर्दै आइपिएल इतिहासमै शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने। उनका साथ ओपनर यशस्वी जैसवालले ७० रनको अविजित योगदान गरे भने कप्तान रियान पराग ३२ रनमा नटआउट रहे।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको थियो। कप्तान शुभमन गिलले ८४ रन र जोस बटलरले अविजित ५० रन बनाए।
बलिङतर्फ राजस्थानका महिश थिक्साना प्रभावशाली रहे, उनले दुई विकेट लिए भने जोफ्रा आर्चर र सन्दीप शर्माले एक/एक विकेट लिए। गुजरातका प्रसिद्ध कृष्णा र राशिद खानले राजस्थानका एक–एक ब्याट्सम्यानलाई आउट गरे।
जितसँगै राजस्थानले १० खेलमा ६ अंक बटुल्दै अंकतालिकाको आठौं स्थानमा रहन सफल भयो। उता, गुजरात ९ खेलपछि १२ अंकसहित तेस्रो स्थानमा कायम छ।
आजको खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स एकअर्कासँग भिड्दैछन्। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे दिल्लीमा सुरु हुनेछ। दिल्ली हाल १२ अंकसहित चौथो स्थानमा छ भने कोलकाता ७ अंकसहित सातौं स्थानमा रहेको छ।






