काठमाण्डौ – आज मातातीर्थ औँसी, नेपाली समाजमा आमाको माया, समर्पण र आशीर्वादको कदरस्वरूप मनाइने एक विशेष दिन। वैशाख कृष्ण औँसीका दिनमा मनाइने यो पर्वमा सन्तानहरूले आमालाई स्वादिला परिकार, उपहार अर्पण गर्दै आशिष लिने परम्परा रहेको छ। जसको आमा दिवङ्गत भइसकेकी छन्, तीले तर्पण, पिण्डदान र पुरोहितलाई सिदा दान दिई दिवङ्गत आमाको सम्झना गर्छन्।

धर्मशास्त्रअनुसार आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि उच्च मानिन्छ—”जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वचनले यही भाव बोकेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार, आमा प्रतिको श्रद्धा प्रकट गर्न यो दिन गहन अर्थ राख्दछ।

चन्द्रागिरीको मातातीर्थमा आज विशेष मेला लागेको छ जहाँ बिहानैदेखि श्रद्धालुहरूको भीड देखिएको छ। यसै सन्दर्भमा समितिले यो वर्ष गुरु अस्त वा सूर्यग्रहणका कारण मुख हेर्न नहुने भन्ने भ्रामक प्रचारप्रति ध्यान नदिन आग्रह गरेको छ।