राप्ती गाउँपालिका–५ लठ्ह्वामा यात्रुवाहक बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
कपिलवस्तुको कृष्णनगरबाट छुटेको बा ३ ख ७९९६ नम्बरको बस हिजो साँझ दुर्घटनामा परेपछि दाङ घोराहीकी पुष्पा डाँगी र राजपुर गाउँपालिका–५ का निलसरोज यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ।
घाइते यात्रुहरूको सिसहनियाँ र लमहीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
प्रहरीले घटनाको थप विवरण संकलन गर्ने काम अघि बढाएको छ।






