काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा देखिएको असन्तोषलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन्।
हिजो साँझ सम्पन्न उक्त वार्तामा शिक्षामन्त्रीको पहलमा प्रधानमन्त्रीले शिक्षक आन्दोलनको पृष्ठभूमि, माग र समाधानका सम्भावनाहरूमा विचार–विमर्श गरेका हुन्। यद्यपि प्रधानमन्त्रीले विद्यालय शिक्षा ऐन चाँडै कार्यान्वयन गरिने प्रतिबद्धता जनाए पनि आन्दोलनरत शिक्षकहरू सरकारको प्रतिवद्धताबाट अझै सन्तुष्ट हुन सकेका छैनन्।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा भएको उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशीको सहभागिता रहेको थियो।
चैत २० देखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलनमार्फत शिक्षकहरूले शिक्षा विधेयक २०८१ यथाशीघ्र पारित गर्न माग गर्दै आएका छन्। उनीहरूले शिक्षा मन्त्रालयको वार्ता आह्वान अस्वीकार गर्दै शैक्षिक हडताललाई निरन्तरता दिएका छन्, जसले कक्षा १२ को परीक्षा, एसईईको उत्तरपुस्तिका परीक्षण तथा विद्यार्थी भर्ना अभियानमा गम्भीर असर पारेको छ।
सरकारले वैशाख १२ गतेदेखि सुरु भएको संघीय संसदको अधिवेशनमा विद्यालय शिक्षा विधेयक पारित गराउने तयारीमा रहेको बताउँदै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरे पनि उनीहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्।






