अमेरिका र चीनबीचको व्यापार तनाव झन् गहिरिएको छ। चीनले अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको भन्सार महसुल लगाएपछि जवाफी कदमस्वरूप अमेरिकाले चिनियाँ वस्तुहरूमा २४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार, चिनियाँ प्रतिशोधात्मक भन्सारको प्रतिउत्तरस्वरूप अमेरिका अब चीनबाट आयात हुने वस्तुहरूमा अत्यधिक कर लगाउनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा आएको यो निर्णयले वैश्विक व्यापारमा ठूलो असर पार्ने संकेत देखिएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार ट्रम्प प्रशासनले विश्वका अन्य ७५ भन्दा बढी देशहरूसँग व्यापार सम्झौताबारे छलफल जारी राखेको र ती देशहरूमा भने उच्च कर स्थगन गरिएको जनाएको छ।
तर, व्यापारमा अस्थिरता र कर वृद्धि लगायतका कारणले विश्व व्यापार सङ्गठन (WTO) ले यस वर्षको व्यापार वृद्धिको प्रक्षेपण घटाएको छ। सन् २०२५ का लागि पूर्वानुमान गरिएको २.७ प्रतिशतको वृद्धिदर घटेर अब ०.२ प्रतिशतको गिरावटमा झर्ने डब्ल्यूटीओको नयाँ अनुमान छ।
यसरी अमेरिका–चीन व्यापार द्वन्द्वले विश्वभर व्यापार प्रणालीमा चपेटा ल्याउने सम्भावना झन् प्रष्ट हुँदै गएको छ।






