काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको खुद्रा मूल्यमा समायोजन गरेको छ। निगमको सञ्चालक समितिको निर्णयअनुसार सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य पहिलो वर्गका क्षेत्रमा १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य क्रमशः पहिलो वर्गमा १ सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ४५ रुपैयाँ, र तेस्रो वर्गमा १ सय ४६ रुपैयाँ तय गरिएको निगमले जानकारी दिएको छ।

क्षेत्रगत वर्गीकरणअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखिएको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा पर्छन् भने काठमाडौं, पोखरा र दीपायललाई तेस्रो वर्गमा समेटिएको छ।

निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १५ पैसा र डिजेलमा २ रुपैयाँ ६२ पैसाले मूल्य घटेकाले उपभोक्तामैत्री मूल्य निर्धारण गरिएको हो।