पर्सा जिल्लाको वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा उत्पन्न तनावपछि शान्ति सुरक्षा सुनिश्चित गर्न आज बिहान १२ बजेसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हिजो साँझ ७:३० बजेदेखि लागू गरिएको यस आदेशले नागरिकको आवतजावत, भेला, र कुनै पनि प्रकारका सार्वजनिक गतिविधिहरूमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार स्थिति नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार कदम चालिएको हो। कर्फ्यूको क्षेत्र भेडियाही चोकदेखि सिर्सिया पुलसम्म पूर्व–पश्चिम, गण्डक चोकदेखि वीरगञ्ज–१४ सम्म उत्तर र शंकराचार्य गेटसम्म दक्षिणतर्फ फैलिएको छ।

सो अवसरमा आयोजित शोभायात्राका क्रममा दुई समुदायबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रयोग गर्नु परेको थियो, जसमा केही सुरक्षाकर्मी पनि घाइते भएका छन्।