इजरायली हवाई आक्रमणले गाजाको शुजैय्या क्षेत्रलाई लक्ष्य बनाएपछि कम्तीमा २९ प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते भएका छन्। गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले घटनाको पुष्टि गर्दै प्रभावित क्षेत्र पूर्णरूपमा ध्वस्त भएको जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आक्रमण नागरिक बस्तीमा लक्षित थियो, जसले स्थानीय संरचना मात्र नभई मानवताको पनि धज्जी उडाएको छ। पछिल्ला २४ घण्टामा अस्पतालमा ३६ वटा शव ल्याइएका छन्, गाजा स्वास्थ्य अधिकारीहरूको भनाइमा।
यसैबीच, गाजामा स्वास्थ्य आपत्कालीन स्थिति थप भयावह बन्दै गएको छ। करिब ६० हजार बालबालिका कुपोषणको जोखिममा परेका छन्। लगातार जारी इजरायली नाकाबन्दीका कारण खाद्यान्न, औषधि र मानवीय सहायता गाजामा प्रवेश गर्न सकेको छैन, जसले यो संकटलाई अझै गहिरो बनाएको छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, कुपोषणका कारण बालबालिकाहरूको शारीरिक र मानसिक विकास प्रभावित हुने सम्भावना निकै उच्च छ, साथै उनीहरूको रोगसँग लड्ने क्षमता पनि कमजोर हुँदै गएको छ।
संयुक्त राष्ट्रसंघको मानवतावादी सहायता समन्वय कार्यालय (OCHA) का अनुसार २ मार्चदेखि गाजातर्फ जाने सबै सीमा नाकाहरू बन्द छन्, जसले मानवीय सहायता र व्यापारिक ढुवानीमा पूर्ण अवरोध सिर्जना गरेको छ।






