काठमाण्डौ – देशका धेरै भागहरूमा पछिल्लो केही घण्टायता मौसममा व्यापक परिवर्तन आएको छ। विशेषगरी पूर्वी नेपालका जिल्लाहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा भइरहेको छ। मोरङमा मात्र पछिल्ला ६ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाण्डौ उपत्यकासहित अधिकांश स्थानहरूमा वर्षा जारी छ भने पश्चिमको तुलनामा मध्य र पूर्वी भागमा वर्षाको मात्रा उल्लेखनीय रूपमा बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि पनि देशका धेरैजसो प्रदेशहरूमा गडगडाहट र चट्याङसहित पानी पर्ने सम्भावना औंल्याएको छ। साथै, हिमाली क्षेत्रमा हिमपात र सुदूरपश्चिमका केही स्थानमा हावाहुरीको चेतावनी दिइएको छ।

यसैबीच, उपत्यकाको वायू प्रदूषणमा केही कमी देखिए पनि हालको एक्यूआई (वायू गुणस्तर सूचकांक) अझै १९० माथि रहेकोले सबैका लागि अस्वस्थकर अवस्थामै रहेको बताइएको छ। मौसमविद्हरूका अनुसार वर्षाले केही राहत त दिनेछ, तर दीर्घकालीन सुधारको संकेत देखिएको छैन।

विगत लामो समयदेखि पश्चिमी वायू प्रणाली कमजोर रहँदा देशभर पर्याप्त वर्षा हुन नसकेको, तापक्रम उच्च हुँदा वायुमण्डल सुक्खा भएको र तुवाँलोको प्रभावले प्रदूषणलाई झन् गम्भीर बनाएको विभागले स्पष्ट पारेको छ। यस्तो अवस्थामा मौसमसम्बन्धी सूचनाहरू नियमित रूपमा अवलोकन गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई विभागले आग्रह गरेको छ।