जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका निम्ति प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त महाराजगन्ज र मालिगाउँले बिहीबार आयोजना गरेको ‘लागुऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुन सक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ,” उनले भने ।
परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागुऔषध दुर्व्यसनी र साइबर अपराधका घटना बढेको भन्दै यसलाई नियन्त्रणका निम्ति काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गरे ।
चालु आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार ७०० मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ ।
ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन्। रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।
परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने जानकारी दिए। ठमेलको सातघुम्ती, चाक्सीबारी, ज्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ।
आचारसंहिताअनुरूप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ। मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने, यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ।






