सर्लाहीको चक्रघट्टा गाउँपालिकाले कात्तिक २७ गते (शुक्रबार) शोक दिवस घोषणा गरेको छ। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ चिसपानी गढीमा भएको माइक्रोबस दुर्घटनामा चक्रघट्टा वडा नं. ४ सुन्दरपुरका १३ जनाको मृत्यु भएपछि यो निर्णय लिइएको हो।
छठ पर्व मनाउन घर फर्कंदै गर्दा दुर्घटनामा परेकाहरूमा एक गर्भवती महिलासमेत थिइन्। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले बिहीबार सूचना जारी गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य सरकारी–गैरसरकारी कार्यालय बन्द रहने जनाएका छन्। आपतकालीन स्वास्थ्य सेवा भने सञ्चालनमा रहनेछ।
गाउँपालिकाले मृतकका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। पहिले १० जना भनिएको मृत्यु संख्या अद्यावधिक भई १३ पुगेको छ।






