राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइटमा दर्ता सदस्यहरूको संवेदनशील डाटा डार्क वेब प्लेटफर्ममा उजागर भएको साइबर सुरक्षा अनुसन्धानकर्ताले दाबी गरेका छन्।

अनुसन्धानकर्ता मनोज भट्टका अनुसार करिब ९ जीबीको डाटा फाइल फेला परेको छ जसमा ६०–७० प्रयोगकर्ताका लगइन विवरण छन्। केही खाता अझै सक्रिय रहेको र उपलब्ध क्रेडेन्सियलबाट पहुँच गर्न सकिने उनले बताए। परीक्षण गरिएका करिब ९० प्रतिशत खातामा मोबाइल नम्बर नै युजरनेम र पासवर्ड दुवै प्रयोग भएको पाइएको छ।

लीक भएको जानकारीमा नागरिकता, मतदाता परिचयपत्र, पासपोर्ट साइज फोटो, इमेल र मोबाइल नम्बर समावेश छन्। यस्तो डाटा पहिचान चोरी, डिजिटल ठगी र आर्थिक अपराधमा दुरुपयोग हुन सक्ने जोखिम औंल्याइएको छ।

भट्टले पासवर्ड तत्काल परिवर्तन, मल्टि–फ्याक्टर प्रमाणीकरण, ओटीपी लगइन, क्याप्चा सुरक्षा र सुरक्षा अडिटको सिफारिस गरेका छन्। उनले पार्टीको आईटी तथा सुरक्षा टोलीलाई जानकारी दिएको दाबी गरेका छन् तर रिपोर्ट तयार हुँदा जवाफ नआएको उल्लेख छ।