नेपाल पर्यटन बोर्डले भारीदेखि अत्यधिक भारी वर्षाको पूर्वानुमान आएपछि ट्रेकर, आरोही, पर्यटन व्यवसायी तथा सम्बन्धित सबैलाई उच्च सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि आइतबारसम्म कठिन मौसमी अवस्थाको चेतावनी दिएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा उच्च वर्षाको जोखिम रहेको जनाइएको छ। असुरक्षित मौसममा पर्यटकीय गतिविधि स्थगन गर्न पनि बोर्डले सल्लाह दिएको छ।
बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्ने अपेक्षा छ। शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीका केही क्षेत्रमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्छ भने एक–दुई स्थानमा अत्यन्त भारी वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिमका केही भागमा पनि भारी वर्षा हुन सक्छ।
यसले बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढाउन सक्ने भएकाले आधिकारिक मौसम जानकारी नियमित जाँच गर्न र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीसँग समन्वय गर्न आग्रह गरिएको छ।






