सरकारले नेपालका विदेशी सम्बन्धन प्राप्त कलेजहरूको गुणस्तर सुधार गर्न नयाँ नियम स्वीकृत गरेको छ। नयाँ नीतिअनुसार अब विश्वको top १,००० भित्र रहेका विश्वविद्यालयहरूले मात्र नेपालका कलेजहरूलाई शैक्षिक सम्बन्धन दिन पाउनेछन्।

यसका साथै कलेज सञ्चालन गर्नुअघि दुई चरणको Quality Assurance and Accreditation (QAA) प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। यो नियम नयाँ तथा पुराना दुवै विदेशी सम्बन्धन प्राप्त कलेजमा लागू हुनेछ।

कलेजमा विद्यार्थी भर्ना क्षमता पूर्वाधार, शैक्षिक क्षमता र शिक्षक शिक्षिकाको उपलब्धतामा आधारित हुने छ। मापदण्ड पूरा नगर्ने कलेजहरूलाई सुधारका लागि समय दिइनेछ तर सुधार नभएमा सम्बन्धन नवीकरण, विद्यार्थी भर्ना रोक्ने वा कानुनी कारबाही हुन सक्ने भएको छ।

यो कदमले नेपालमा विदेशी सम्बन्धनका कलेजहरूको गुणस्तर वृद्धि गर्ने अपेक्षा गरिएको छ।