अमेरिकाको व्हाइट हाउसबाहिर शनिबार साँझ गोलीकाण्ड भएको छ। आक्रमणकारीले १७औं स्ट्रीट र पेन्सिलभेनिया एभिन्यू नजिकै झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाएका थिए।

सिक्रेट सर्भिस एजेन्टहरूले तत्काल प्रतिकार गर्दा आक्रमणकारी गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको छ।

घटनापछि व्हाइट हाउसमा तत्काल लकडाउन गरिएको थियो र भित्र रहेका पत्रकारहरूलाई सुरक्षित ब्रिफिङ रुममा सारिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प घटना हुँदा व्हाइट हाउसभित्रै थिए र उनी पूर्ण रूपमा सुरक्षित रहेको जनाइएको छ।

घटनास्थलमा १५ देखि ३० राउन्ड गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सिक्रेट सर्भिस र स्थानीय प्रहरीले आक्रमणकारीको पहिचान र घटनाको कारणबारे गहन अनुसन्धान सुरु गरेको छ।

यो घटनाले अमेरिकाको सुरक्षा व्यवस्थामा पुनः प्रश्न उठाएको छ।