सिरहाको करजनहा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अविना बैधको हत्या उनकै प्रेमीबाट भएको प्रहरीले पुष्टि गरेको छ। घटना भएको एक महिनापछि व्यापक अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो।

प्रहरीले मङ्सिर २२ गते अविनाको शव करजनहा नगरपालिका–२ स्कूल टोलस्थित कमला सिँचाइ कुलो नजिकको झाडीमा फेला पारेको थियो। शव दिउँसो करिब २:४५ बजे भेटिएको थियो।

सिरहा प्रहरीले मङ्गलबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का ४५ वर्षीय रामबलक चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानबाट चौधरी र अविना प्रेम सम्बन्धमा रहेको खुलेको छ। चौधरी विवाहित हुन्, बच्चा पनि छ र वैवाहिक विवादका कारण अलग बस्दै आएका थिए।

सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त अनुसन्धानबाट अपराध खुल्न सफल भएको हो।

अनुसन्धानबाट खुले अनुसार, मङ्सिर २१ गते साँझ चौधरीले धनुषाको पोर्टाहामा होटेलमा रक्सी खाएर अविनालाई बारम्बार फोन गरेका थिए। दुवैबीच राति करिब ८:३० बजेतिर अन्तिम कुराकानी भएको थियो। त्यसपछि चौधरीले भेट्न बोलाएका थिए र अविना राति करिब ९:१५ बजे चौधरीको कोठामा पुगेकी थिइन्।

अविनाले लामो समयदेखि चौधरीसँग विवाहको प्रस्ताव राख्दै आएकी थिइन्। तर चौधरीलाई अविनाले अन्य पुरुषसँग कुराकानी गरेको शङ्का लाग्ने र यसै विषयमा बारम्बार झगडा हुने गरेको प्रहरीले जनाएको छ।

भेटघाटबाट फर्किने क्रममा कमला नदी नजिक झगडा हुँदा रिसमा चौधरीले अविनामाथि आक्रमण गरी बेहोस बनाएका थिए। त्यसपछि शवलाई झाडीमा फालेर उनी फरार भएका थिए।

चौधरीलाई हिरासतमा लिएर हत्या अभियोगमा अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट म्याद थप गरिएको छ।