काठमाण्डौं — मुलुकको अस्थिर राजनीतिक मन्जरामा नयाँ मोड आउन थालेको छ। आन्दोलनरत जेनजी समूहको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिजो दिनभरदेखि मध्यरातसम्म प्रमुख दलका नेताहरू, संवैधानिक विज्ञहरू र सुरक्षाप्रमुखहरूसँग छुट्टाछुट्टै छलफल गर्दै कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकारको प्रारम्भिक खाका तयार पार्नुभएको हो। तर, संसद् विघटनको विषयमा भने अझै स्पष्ट सहमति बन्न सकेको छैन।
शीतल निवासमा अबेर रातसम्म चलेको यो सघन संवादका क्रममा संविधानको व्याख्या, राजनीतिक संक्रमण र वैधानिक वैकल्पिक व्यवस्थाको खोजीले बहसको ताप झनै बढाएको छ। आज बिहान पुनः छलफलपछि अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।






