काठमाडौं, भदौ २५ — जेन्जी समूहको आन्दोलनले देशको समग्र संरचना र सुरक्षामा गहिरो चोट पुर्याएको छ। देशको प्रशासनिक, न्यायिक र विधायिक प्रणालीका केन्द्रविन्दुहरू जलेर खरानी भएका छन्। सिंहदरबारदेखि संघीय संसद् भवन, सर्वाेच्च अदालत, विशेष अदालत र अन्य संवैधानिक निकायका कार्यालयहरूमा आगलागी भएको पुष्टि भएको छ। यस्तै, ती भवनहरूमा सुरक्षित गरिएका महत्वपूर्ण सरकारी कागजातहरू र ऐतिहासिक अभिलेख पूर्णतः नष्ट भएका छन्।
सार्वजनिक संरचनाका साथै, नेताहरूको निजी निवास, व्यवसायिक केन्द्र, सञ्चार गृहहरू, प्रहरी कार्यालय तथा विभिन्न पालिकाका प्रशासनिक भवनहरू समेत आन्दोलनकारीहरूको निशानामा परेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको घरमा तोडफोड र आगजनी भएको प्रत्यक्षदर्शीहरू बताउँछन्।
देशका प्रमुख शहरहरूदेखि जिल्ला सदरमुकामसम्म फैलिएको हिंसात्मक गतिविधिले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनाएको छ। नागरिकका निजी सम्पत्तिमा समेत गम्भीर क्षति पुगेको छ, जसको मूल्यांकन गर्न सुरक्षाकर्मी र स्थानीय प्रशासन लागि परेको छ।






